निर्वाचन पर्यवेक्षण समिति नेपाल (EOC-Nepal)
बिहान ७ बजे देखि सुरु भएको निर्वाचनमा आम मतदाताको उत्साहपूर्ण सहभागिता भइरहेको अवस्थामा कतै कतै सामान्य विवाद पछि पुनः मतदान सुरु भएको छ। निर्वाचन पर्यवेक्षण समिति नेपाल (EOC-Nepal) का पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खटिएका पर्यवेक्षकहरूबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार हालसम्म करिब ३५ % प्रतिशत मतदाता मतदान प्रक्रियामा सहभागी भइसकेको अनुमान गरिएको छ।
देशका अधिकांश मतदान केन्द्रहरूमा मतदान प्रक्रिया सामान्य रूपमा सञ्चालन भइरहेको देखिएको छ। केही स्थानहरूमा प्रारम्भिक व्यवस्थापनसम्बन्धी ढिलाइ, सामान्य विवाद तथा प्राविधिक कारणले मतदान केही समय प्रभावित भए पनि सम्बन्धित निकायको पहलमा मतदान प्रक्रिया पुनः सुचारु भएको जानकारी प्राप्त भएको छ।
केही शहरी क्षेत्रहरू तथा निश्चित स्थानहरूमा भने मतदाताको उपस्थिती अपेक्षाकृत कम देखिएको जानकारी पनि प्राप्त भएको छ। यद्यपि दिनको पछिल्लो समयमा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ।
EOC-Nepal का पर्यवेक्षकहरूले विभिन्न जिल्लाबाट पठाएको विवरण अनुसार कतिपय मतदान केन्द्रहरूमा पर्यवेक्षकलाई मतदान केन्द्रभित्र प्रवेशमा असहजता सिर्जना भएको तथा पर्यवेक्षण कार्य सहज बनाउन आवश्यक समन्वयको आवश्यकता देखिएको छ। यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
यसैगरी, केही स्थानहरूमा सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता उल्लंघन हुने खालका सामग्रीहरू प्रसारण भइरहेका जानकारीहरू पनि प्राप्त भएका छन्। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न EOC-Nepal सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।
EOC-Nepal ले देशभर खटिएका आफ्ना दीर्घकालीन तथा अल्पकालीन पर्यवेक्षकहरूको माध्यमबाट मतदान प्रक्रिया, आचारसंहिता पालना, मतदाताको सहभागिता तथा समग्र निर्वाचन वातावरणको निरन्तर पर्यवेक्षण गरिरहेको छ। थप जानकारी प्राप्त भएसँगै अपरान्ह अद्यावधिक सार्वजनिक गरिनेछ ।
Mar 05, 2026
Mar 05, 2026
Mar 05, 2026
Mar 05, 2026
Mar 05, 2026