Buddhanagar, Kathmandu
2082 चैत 19 गते बिहीबार , 2026-04-02 ,Thursday

निर्वाचन विशेष : कतै पुनः सुचारु, कतै बहिष्कार

निर्वाचन विशेष : विभिन्न जिल्लाका मतदान केन्द्रमा अवरोध, हवाई फायर र बहिष्कार
आज भइरहेको मतदानका क्रममा देशका विभिन्न जिल्लामा सानातिना घटनाहरू भएका छन्। दोलखा, सिन्धुपाल्चोक, दाङ र सर्लाहीका केही मतदान केन्द्रहरूमा विवाद, प्रदर्शन र केही बेर मतदान अवरुद्ध भएको जानकारी प्राप्त भएको छ।
दोलखामा झडपपछि दुई राउन्ड हवाई फायर, मतदान स्थगित
दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु गर्ने सहमति भएको छ। सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने सहमति भएको छ। मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।
बझाङमा विकास निर्माणप्रति असन्तुष्टि, मतदाताद्वारा बहिष्कार
बझाङको तालकोट गाउँपालिका वडा नं. ४ लुकड मतदान केन्द्रमा भौतिक पूर्वाधार लगायतका विकासका कार्यहरू नभएको भन्दै विगतदेखि नै रहँदै आएको असन्तुष्टिले सहमति हुन नसकेपछि स्थानीय मतदाताहरूले निर्वाचन बहिष्कार गरेका छन्। बहिष्कारका बाबजुद पनि हालसम्म उक्त मतदान केन्द्रमा ३ पुरुष र १ महिला गरी जम्मा ४ जनाले मात्र मतदान गरेको जानकारी प्राप्त भएको छ।
सिन्धुपाल्चोकमा मतदान अधिकृतविरुद्ध आरोप
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित एक मतदान केन्द्रमा अपांगता भएका एक व्यक्तिको भोट उनको इच्छा विपरीत मतदान अधिकृतले हालेको आरोप लागेको छ। यस विषयमा विवाद हुँदा केही समय मतदान रोकिए पनि अहिले भने मतदान सुचारु भएको प्रहरीको केन्द्रीय निर्वाचन सेलले जनाएको छ।
दाङमा निकुञ्ज प्रभावितद्वारा मतदान बहिष्कार
दाङको बबई गाउँपालिकामा बाँके राष्ट्रिय निकुञ्ज प्रभावितहरूले मतदान बहिष्कार गरेका छन्। गाउँपालिका-७ स्थित देउती मावि र वडा नं. १ स्थित जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा साढे १० बजेसम्म कुनै पनि मतदाता नआएको मतदान अधिकृतले बताएका छन्। यी दुई केन्द्रका ६८२ मतदाता मध्ये कसैले पनि मत खसाल्न नआएको जनाइएको छ।
सर्लाहीको बलरामा तनाव र मतदान अवरोध
सर्लाहीको बलरा नगरपालिकामा केहीबेर अवरुद्ध भएको मतदान पुन: सुरु भएको छ।
वडा नं. १ मा केही युवाले तनाव सिर्जना गर्न खोज्दा मतदान केहीबेर रोकिएको थियो। प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख घटनास्थल पुगेपछि मतदान सुचारु भएको थियो।
यसैगरी, बलरा-४ स्थित श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा पनि दुई पक्षका कार्यकर्ताबीच विवाद हुँदा मतदान रोकिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह घटनास्थल पुगेपछि विवाद भएको प्रतिपक्षी दलले आरोप लगाएको थियो। प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको टोलीले विवाद मिलाएपछि उक्त केन्द्रमा पनि मतदान सुचारु भएको छ।


थप विवरण पर्खंदै छौं।